हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय विधायिका दुबै लगभग एकै समय हल न चल भए। पहिला त संविधानसभा रुपी विधायिका अवरुद्ध भयो। त्यो अवरुद्ध भइरहेको बेला विमानस्थल पनि ठप्प हुन पुग्यो।
पहिल्यै प्रष्ट पारिहालुँ, ती दुईबीच प्रत्यक्ष सम्बन्ध सावित् गर्न मैले खोजिरहेको भने होइन।
विमानस्थलमा विमान आउजाउ गर्न धावनमार्ग खुला पार्नुपर्ने भयो। विदेशी एयरलाइन्सको एयरबसले पुर्याएको वाधा फुकाउन नेपालसँग आन्तरिक सामथ्र्य हुन सम्भव थिएन। नजीकको छिमेकीकहाँ त्यो विशेष वायूयान रहेछ। पहिलो गुहार माग्ने त छिमेकीकहाँ नै हो।
तर जति नजीक र जति घनिष्ठ भए पनि उच्च प्राबिधिक विषय परेपछि नेपालको के लाग्छ ? त्यसमाथि यस्तो घटनाको कहिल्यै अनुभव नपाएकाले इन्तु न चिन्तुझैं देखियौं हामी। दिनको ४० वटा अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमात्र थिएन त्यो। विदेशी पर्यटक भित्र्याउन र स्वदेशी श्रमिक पठाउन प्रयोग हुने भएकाले विमानस्थल सञ्चालन हाम्रो अर्थतन्त्रको स्वास्थ्यसँग सोझै गाँसिएको राष्ट्रको साझा सवाल थियो।
नेपालको कमजोरी हो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग एउटै हुनु। कुनै विकल्प नहुनु। विकल्प भए यसरी आकाशमा ठूला विमान नदेखिने गरी नेपाल एक्कासि ६ दशकअघि फर्किन सक्थ्यो होला त ? भनौं न, एक हिसाबले कति अत्यासलाग्दो छ हाम्रो हविगत। भोलि प्राकृतिक वा अप्राकृतिक, कुनै पनि प्रकारको विपद्मा त्यही धावनमार्ग पनि चल्न नसक्ने भयो भने हामी त हाकाहाकी बाह्य सम्पर्कविना अर्थात धागो चुँडिएको चंगारुपी विमानविहीन भूगोल हुन पुग्न सक्दारहेछौं। हाकाहाकी हाहाकार बेहोर्न पुग्ने हुन सक्दारहेछौं।
हामीलाई बाह्य विश्वसँग जोड्न हाम्रो धमनीरुपी धावनमार्ग खुला राख्नुथियो र त्यसका लागि हामीलाई चाहिएको थियो एउटा यस्तो विशेष यान जो विशेष पार्टपुर्जा बोक्दै आएर सानो धावनमार्गमा पनि अवतरण गर्न सक्छ। हामीलाई चाहिएको थियो एउटा हर्कुलस विमान।
त्यही बेला हाम्रो संविधानसभाका विपद्का विषय सुल्झाउन संवाद गर्ने जिम्मेवारी लिएका एकजना नेता भारत पुगेका थिए। हो बाबुराम भट्टराई। उनी जुरुक्क उठेर खुलामञ्चको विशाल विपक्षी आमसभालाई प्रत्यक्षदर्शी पार्दै सोझै विमानस्थलतिर हानिनुको कारण भारतसँग भनसुन गर्नु थियो। हो, उनले भनेको ठीक हो, अरू भने आशिर्वाद माग्न जाने गर्छन्।
भट्टराईले भारतीयहरुसँग हर्कुलस विमानका लागि भनसुन गर्न खोजेका होइनन्। उनले मागेको हर्कुलस विमान अवतरण गर्न छोटो धावन मार्ग भए पुग्ने खाले होइन। उनले खोजेको हर्कुलस विमानका लागि खासमा कुनै धावनमार्ग नै चाहिँदैन। त्यो त आकाशवाणी मात्र हो। त्यो विशेष रूपमा आउँछ। विशेष ठाउँमा गुञ्जिन्छ, भनौं न विशेष ठाउँमा अवतरण गर्छ। त्यसलाई राडारले पत्ता लगाउन सकिँदैन। चाल पाउन सकिएला, महशूस गर्न सकिएला।
त्यो हर्कुलस–आकाशवाणी आए/नआएको हामी देश दुनियाँलाई थाहा हुँदैन। त्यो आएको र आउने गरेको, रोकिएको वा के भएको हो त्यसबारे हामीलाई उनकै जोडारूपी पार्टी अध्यक्ष पुष्पकमल दाहालले थाहा दिने गर्छन्। उनले हेरिरहेको बेला खुलामञ्चमा कुर्ची रित्तो पारेर गएका आफ्ना ती अनन्य जोडाले दक्षिण दिशाबाट आकाशवाणी ल्याउने भरोसा देशमा बढेको छ। आकाशवाणीबारेका सवभन्दा वेत्ता नै दाहाल हुन् जसले हामीलाई त्यसको ‘स्टाटस’ बेलाबेला ‘अपडेट’ गरिदिने गर्छन्। जसरी भट्टराईले भारत गएर नेपालको ‘अपडेट’ गराउने गर्छन्।
भट्टराईले भारतको संस्थापनसँग भनेअनुसार हाम्रो संस्थापनलाई पार्टपुर्जासहितको श्रवणशक्ति बढाउने विशेष उपकरण चाहिएको छ। त्यो ‘हर्कुलस टास्क’ नै हो। त्यस्तो उपकरण जडान गरेपछि हाम्रो संस्थापन पक्षको श्रवणशक्ति बढ्छ र त्यसले आकाशवाणी ठम्याउन सक्छ। त्यसको अभावमा हाम्रो संविधानसभा अचेत भएको छ। सभासद्हरू भट्केका छन्। कोही प्रक्रिया भन्छन्, कोही सहमति भन्छन्। कोही प्रतिगमन भन्छन्, कोही पहिचान भन्छन्। कोही वार्ता बसौँ भन्छन्, कोही जुलुश हिँडौं भन्छन्।
भट्टराईले संविधानसभामा चाहिएको आकाशवाणीका लागि जिकीर गर्दा आफ्नो गुनासो गर्नु आफूलाई मनमा लागेको ओकल्नु हो, त्यो स्वाभाविक थियो। (‘तपाईंहरूको द्विविधाका कारण’) हुँदाखाँदाको पहिलो संविधानसभा आफैंले असफल पार्नुपर्यो। जुरिसकेको सहमति एकाएक भत्काउनुपर्यो। दोस्रो संविधानसभा बनाएर देखाउँला भन्ने थियो तर निर्वाचन गराउन नपाउँदै मलाई राजीनामा गर्न लगाइयो। चुनाव भयो, (‘तपार्ईंहरू हार्नुभयो’)। जसले मतादेश पाए तिनले जनादेश प्रतिनिधित्व गर्थेनन्। जनादेशका आधारमा चल्न मतादेश पाएकाहरु तयार भएनन्।
उनले भन्नु जायज थियो– अब तपाईंहरू द्धिविधा हटाउन तयार भइदिनुपर्यो। तपाईंहरु किन तयार भइदिनुपर्यो भने हाम्रो देशमा जनताले गरेको संघर्षबाट प्राप्त जनादेश निर्माणमा तपाईंहरूको साथ, समर्थन र सहयोग थियो। त्यो जनादेश पाउने संघर्षमा खासै देखा नपरेका व्यक्तिहरूले हाँकेका पार्टीले मतादेश पाए, त्यसकारण हाम्रो देशभित्रको संघर्ष अलि जटिल हुन पुग्यो। जनादेश ठूलो कि मतादेश भन्ने संघर्षले हाम्रो संविधान निर्माण प्रक्रिया अवरुद्ध हुन पुगेको जुन तपाईंहरूले देखिरहनुभएको छ। अब पनि कत्ति तपाईंहरू चुप लागेर बस्न सक्नुहुन्छ ?
भट्टराई त्यसरी मद्धत माग्ने काम सकिएपछि स्वदेश फर्किनुपर्ने बेला काठमाडौंतर्फ कुनै पनि नियमित उडान हुँदै थिएन। उनी रूट बदल्न बाध्य भए। लखनऊ हुँदै नेपाल पसेर आन्तरिक विमानस्थलमा उत्रिए। नेपाल र भारत सम्बन्ध कति आन्तरिक, कति अन्तर्राष्ट्रिय भन्ने त उनको व्यवहार नै प्रमाण हुँदै आएको छ। हेरौं न, उनको ४० बुँदेदेखिको सशस्त्र मार्गचित्र अहिलेसम्म कतिपल्ट बदलिएको छ, कतिपल्ट।
उनी हर्कुलस विमानमै उडेर आउने कुरा भएन। त्यसमा त प्राबिधिकहरू वा भारतीय सैनिक मात्र आउन मिल्थ्यो। आउनै पर्ने वा त्यस्तै केही अपर्झट भएको भए भारतीय सेनाको त्यो विशेष विमानले कुनै विशेष यात्रुलाई ल्याउँथ्यो होला पनि। एकछिनलाई भनौं न। तर विशेष विमान त विशेष उपकरणहरूसहित विशेष प्राविधिकहरू लिएर एक्लै आयो।
टर्किस एयरलाइन्सका पाइलटले यात्रुहरूको ज्यान जोगाएका थिए, जहाजलाई ठूलो दुर्घटनाबाट बचाएका थिए। धावनमार्ग धस्नु मात्र विकल्प थियो। जहाजको पाङ्ग्रा निस्केन वा ‘भिजिविलिटी’ कम भयो, जे कारण होस् पाइलटले बचाए। जहाज भने बचेन। ठीक यस्तै हविगत हो हाम्रो राजनीतिको। यसमा एउटै धावनमार्ग छ संविधानसभा। यसलाई सहमतिद्वारा सञ्चालन गर्नुपर्ने भएकाले कुनै पनि शक्तिको पखेँटै किन नहोस् कतै बाटो छेक्न तेर्सिएको छ भने पनि यो चल्न सक्दैन। यसले गति लिन सक्दैन।
हाम्रो संविधानसभाले शान्ति प्रक्रियाको सफल अवतरण गराउन जनादेशका आधारमा एयर ट्राफिक कन्ट्रोलरहरू चल्नुपर्ने हुन्छ। उनीहरू भने मतादेशका आधारमा चल्न खोजिरहेका छन्। यी एयर ट्राफिक कन्ट्रोलरहरूलाई पहिला पनि आकाशबाणी आएको त थियो। जनादेश मान भनेर एकपल्ट आयो। मतादेश पनि ख्याल गर भनेर अर्कोपल्ट आयो। जनादेश पनि ख्याल गर, मतादेश पनि नभुल्नु भनेर पनि आकाशवाणी आयो। त्यसकारण दिल्लीमा भट्टराईसँग बोल्दा पूर्व विदेश सचिव श्यामशरणले भनेअनुसार नेपालमा के गर्ने भन्नेबारे अहिले भारतमा द्विविधा रहेको सही हो।
नेपाली एयरट्राफिक कन्ट्रोलरहरू झन् द्विविधाबाट गुज्रिने नै भए। भट्टराईले भन्न खोजेका थिए, यसरी कहिले जनादेश र कहिले मतादेश, कहिले दुबै मिसाएर नियम पालना गर्नुपर्ने परिस्थितिले हामीलाई विलखवन्द बनायो। एउटा प्रष्ट वाणी आवश्यक भयो। त्यत्ति उद्दार चाहिने भयो। शान्ति प्रक्रियाका खातिर पनि तपाईंहरूले हामीलाई सहयोग गर्नुपर्ने भयो। शान्ति प्रक्रिया खलबलियो भने असर पर्ने तपाईंहरूलाई नै भएकाले म यहाँ हात फैलाउन आएको छु।
हाम्रो संविधानसभाको गतिरोध तोड्न संवाद गर्नुपर्ने फाँटका मुख्य जिम्मेवार नेताले त्यसरी हर्कुलस–आकाशवाणीको आवश्यकताबारे ‘अपडेट’ दिएपछि संयोगै हुनुपर्छ यता वार्ता सुरू हुने परिस्थिति बनेको छ। विमानस्थल त बन्दै थियो। उनी आफैं भने आउन पाएकै थिएनन्। यता भने वार्ताको धावनमार्ग खुला भइसकेको छ। आकाशतिर हेरौं त, काठमाडौंमा मौसम सफा छ।