सेतोपाटी आज तेस्रो वर्षमा प्रवेश गरेको छ।
पछिल्ला दुई वर्षमा हामीले पाठकलाई छिनछिनका समाचार र दिनदिनका विश्लेषणसँगै गम्भीर विषयका खोजी समाचार बाँड्ने प्रयास गर्यौँ। आफ्नो ब्रह्मले देखेको कुरा निर्भिकता साथ पाठक माझ राख्यौं।
दुई वर्ष पूरा भएको अवसरमा हामी दोहोर्याउन चाहन्छौँ- लोकतन्त्रको मूल्य-मान्यता, राष्ट्रियताको पक्षपोषण, सुशासन र पारदर्शिता, सामाजिक परिवर्तन, नागरिकहरूको हक-अधिकार र स्वाभिमानप्रति हामी सधैँ चनाखो रहन्छौं।
सेतोपाटीमा समेटिने समाचारको घेरा अझै फराकिलो पार्दै लैजाने प्रतिबद्धताअनुरूप हामीले अघिल्लो महिना सेतोपाटीको ग्लोबल संस्करण सुरु गर्यौँ। ग्लोबल संस्करणले संसारभर छरिएर रहेका नेपालीलाई जोड्न थप मद्दत गर्छ भन्ने हाम्रो विश्वास छ।
यो वर्ष सेतोपाटीको समाचारको घेरा फराकिलो पार्दै लैजाने अभियानले थप तीव्रता पाउने छ।
सेतोपाटीलाई नेपालीबीच संवाद गर्ने भरपर्दो मञ्च बनाउने अभियानमा हामी सदैव गम्भीरतापूर्वक लागिरहनेछौँ।
स्वतन्त्र र निर्भिक पत्रकारिताका लागि पाठकहरूबाट प्राप्त विश्वास र भरोसा हाम्रो पुँजी हो। यसले जिम्मेवार पत्रकारिता गर्न हामीलाई अझ प्रोत्साहित गरेको छ।
पाठकहरूका प्रतिक्रिया र सुझाव हाम्रा मार्गदर्शन हुन्, हामी थप पाठक सहभागिता निमन्त्रणा गर्दै आगामी वर्ष झन् खरो रूपमा प्रस्तुत हुने अठोट गर्दछौँ।
हामीलाई पछ्याउँदै गर्नुहोला, हामी नेपाली समाजका सरोकार पछ्याइरहने छौँ।
धन्यवाद।