• गत फागुन ८ गते धरानबाट उर्लाबारी जाने क्रममा हासपोसा २ को जंगलमा को १ प ११९८ नम्बरको गाडीमा ठोक्किएर हरिणको मृत्यु।
• साउन १ गते गाडीको ठक्करबाट चित्तलको मृत्यु।
• साउन ५ गते बिहान २:३० दुध विकास संस्था (डिडिसी) विराटनगरको को १ ख २११२ नम्बरको दुध लिएर आउँदै गरेको गाडी चित्तललाई जोगाउँने क्रममा पल्टिदा केही क्षति।
जंगली जनवारका लागि जैविक मार्ग नहुँदा बन्यजन्तु मरेका र त्यसबाट गाडीमा परेको असरको प्रतिनिधि घटना हुन् यि। धरानको हस्तान्तरित सामुदायिक वन र सरकार मातहतकै वन क्षेत्रमा पनि हरिण जातका चित्तल, मृग, बदेल, हात्ति, खरायो, स्याल, फ्याउरो, बादर, ढेँडु, निलगाईलगायतका बन्यजन्तु पाइन्छन्।
त्यहीँ जंगलको बीचमा पर्ने कोशी राजमार्गमा बन्यजस्तुहरुको लागि जैविक मार्ग (बन्यजन्तु हिड्ने आफ्नै मार्ग) को नहुँदा जंगली जनवारहरुले अकालमा ज्यान गुमाउनु परेको छ। …जैविक मार्गको अभावमा यहाँ धेरै बन्यजन्तुहरु मरिरहेका छन्।' इलाका वन कार्यालय धरानका सहायक वन अधिकृत ज्ञानकुमार लामा भन्छन्। उनका अनुसार वन्यजन्तुहरुको बासस्थानै जंगल भएकाले उनीहरुको पनि आफ्नै पैदल मार्ग हुन्छ। त्यही मार्गमा हिड्ने क्रममा उनीहरु गाडीहरुको ठक्करबाट मृत्युको मुखमा पुग्ने गरेका छन्।
नेपालमा बन्यजन्तुहरुको लागि विशेष खाल्को जैविक मार्गको व्यवस्था छैन। बर्दिया बन्यजन्तु राष्ट्रिय निकुञ्जमा भने गाडीहरुलाई हर्न नबजाउन, गति सिमित गरिदिएको छ। जसले गर्दा धेरै जसो बन्यजन्तुहरुले अकालमै मर्नु परिरहेको छ। विदेशको हकमा भने उनीहरुको लागि जैविक मार्ग तयार गरिदिने गरेको पाइन्छ। तर, नेपालका चारकोसे झाडी अर्थात सरकारी वन क्षेत्रमा पर्ने ठूला तथा साना रोडहरुमा त्यस्तो व्यवस्था नहुँदा पनि बन्यजन्तुहरु मरेका प्रसस्तै उदाहरण भएको अधिकृत लामा बताउँछन्। सुनसरीको कोशी राजमार्गको चारकोसे झाडीमा वार्षिक ५ भन्दा बढी बन्यजन्तु मरेको इलाका वन कार्यालय तिनकुनेले जनाएको छ।
विदेशको हकमा साना गाडीको लागि ४० किलोमिटर प्रतिघण्टा तोकेको पाइन्छ भने ठूला गाडीहरुको हकमा २० किलोमिटर प्रतिघण्टा तोक्ने गरेको छ। त्यस्तै हर्न निशेधित गरिएको हुन्छ। तर, नेपालका अधिकांस क्षेत्रमा व्यवस्था नहुनु साथै चर्को हर्नका कारण पनि अकालमा मृत्युवरण हुने गर्दछ। …चर्को ध्वनीले गर्दा पनि आत्तिएर ठोक्किन पुग्छन् र मर्छन्।' अधिकृत लामा भन्छन्। माथिका प्रतिनिधि घटना मध्येको साउन १ गतेको घटना पनि त्यहीसँग सम्बन्धित छ।
त्यस्तै गत फागुनमा तरहराको पानीपियामा पनि गुडिरहेको गाडीमा ठोक्किएर हरिणको मृत्यु भएको प्रहरी चौकी तरहराका प्रमुख सई मानबहादुर मिश्रले बताए। त्यसबेला गाडी चालक धरान–१५ का दानबहादुर राईले एक्कासी ठोक्किन पुगेको बताएका थिए। बिहेमा उर्लाबारी हिडेका मानिसहरुलाई लिएर जाने क्रममा ठोक्किदा गाडीमा समेत क्षति पुगेको थियो। …यस्ता धेरै घटनाहरु भइसकेका छन्।' अस्थायी प्रहरी चौकीका असई गणेश श्रेष्ठ भन्छन्।
साउन ५ गतेकै घटनामा पनि चालक सगुरलाल चौधरीले दिएको बयान अनुसार मृगहरुको बथान एक्कासी आउँदा जोगाउने क्रममा गाडी पल्टिएको बताएको असई श्रेष्ठ बताउँछन् । जंगली जनवारहरुको जैविक मार्ग नहुँदा यस्ता घटनाहरु भइरहे पनि प्रशासनले यसतर्फ चनाखो भएको पाइदैन। हरेकदिन जसो स–सना जंगली जनवारहरु मरेको थाहा नपाइनेसम्म गरेको छ। …स–सना जंगली जनवारहरु जस्तै खरायोहरु मरेमा थाहा नै हुदैन।' सहायक वन अधिकृत लामा थप्छन्।
जंगली जनवारहरु कै लागि पनि विशेष खाल्को जैविक मार्ग बनाइदिनु पर्ने उनको भनाई छ। जैविक मार्ग भएमा यस्ता घटना कम हुने र चारकोसे झाडीमा पर्ने सडकहरुमा पनि न्युनतम् ४० किलोमिटर प्रतिघण्टा भन्दा बढीको गतीमा कुदाउन नपाउने नियम बनाउन आवश्यक रहेको बताउँछन्। जंगल क्षेत्रहरु ध्वनी निषेधित, गति कम गर्ने खाल्का सचेतना जनाउने खाल्का चित्र तथा वोर्डहरुको व्यवस्था गर्नुपर्छ।
जैविक मार्गको अभावमा वार्षिक झण्डै ५ भन्दा बढी जंगली जनवारहरु मर्ने गरेको इलाका वन कार्यालय तिनकुनेले जनाएको छ। वन्यजन्तुहरु मारेमा वा ठक्कर दिएर मृत्यु भएमा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित बन्यजन्तु भएमा ५ देखि १५ वर्षसम्म कैद र अधिकतम् ७५ हजार रुपैयासम्म जरिवाना हुने जिल्ला वन कार्यालयका प्रमुख डिएफो राजबहादुर राउतले बताए। उनका अनुसार गैडा, हात्ति, बाघ, निलगाईलगायत संरक्षित वन्यजन्तुमा पर्छन् भने संरक्षित बाहेक अन्यलाई सामान्यमा राखेको छ। जसलाई मारेमा २ वर्षसम्म कैद र १० हजार रुपैयासम्म जरिवाना हुन्छ।
जैविक मार्ग निर्माण गर्न नसके पनि नेपाल प्रहरी र ट्राफिक प्रहरीहरुले जंगल क्षेत्रका सडक प्रवेशद्धारमा सचेत गराउने काम भएमा पनि केही हदसम्म जंगली जनवारहरु मर्नबाट बच्ने उनी बताउँछन्। …जंगलभित्र जनवारहरुको मुभमेन्ट भइरहेको हुन्छ। त्यही अवस्थामा मर्छन्।' डिएफो राउतले भने।
जैविक मार्ग खोलिनुपर्छ
राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व सदस्य सचिव एव वन्यजन्तु विज्ञ जुद्धबहादुर गुरुङ भन्छनः झापाको बाहुनडागीमा बर्षेनी हात्तिले क्षति पुर्याएको समाचार सुन्न सकिन्छ। त्यो बास्तवमा उनीहरुको जैविक मार्गमा घरहरु निर्माण भएकाले पनि त्यस्तो भएको हो। विदेशतिर मूख्य सडक क्षेत्रमा दुवैतर्फ बार लगाएर बन्यजन्तु आउन दिदैनन्।
बाटो भरी नै बार लगाएको हुन्छ। निश्चित ठाउहरु खोलिएको हुन्छ। जनवारको बाटो हो भन्ने चिन्ह राखेर सतर्क भएर गाडी चलाउनुस् भनेर वोर्डहरु राखिदिएको हुन्छ। त्यस सडकमा पर्ने जंगलमा जे जनवार पाइन्छ त्यही जनवारहरुको सिग्नल राखेको हुन्छ। जस्तै गैडा छ भने गैडाको। नेपालको हाइवेहरुमा जंगली जनवारहरु कतिमर्छ त्यसको सर्वे गर्न आवश्यक छ। बर्दिया निकुञ्चमा सन् १९९३ तिर भएको थियो। तर, देशभर नै भएको पाइदैन। विदेश जस्तो नेपालमा पनि गरिन आवश्यक छ। जति क्षेत्र जंगलको पर्छ त्यसको करिडोर क्षेत्रमा जैविक मार्गको नामाकरण गर्न आवश्यक छ। जनवार हिड्ने ठाउमा छेकबार गर्ने प्रणाली बनाउनु पर्छ। यो बन्यजन्तुहरुको संरक्षणको लागि आवश्क कुरा हो।