लुम्बिनी-कपिलवस्तु दिवस अभियान : हिजो, आज र भोलि-राम कुमार श्रेस्ठ

709

लुम्बिनी-कपिलवस्तु दिवस अभियान : हिजो, आज र भोलि-राम कुमार श्रेस्ठ

वुद्ध  जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले बिस्वब्यापी रुप लिँदासम्म पनि वुद्ध जन्मिनु भएकै देशका तर्फबाट भने देखा परेको सर्बपक्षीय मौनताका कारण सीमित साधन र श्रोतका बाबजुद क्षमताले भ्याएसम्म सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलमा सूत्रपात भएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले आफ्नो पाँचौं बार्षिकी मनाउने तयारी गर्दासम्म अभियानको उद्धेस्य प्राप्तीका दृष्‍टिकोणले अनपेक्षित तवरबाट उल्लेख्य उपलब्धीहरु हासिल गर्न सफल भएको छ । बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले विश्व सामू ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी यो दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाइएको थियो ।

कार्यक्रमलाई निरन्तरता दिन संस्थागत गरिनुपर्ने भएका कारण सन २०१० मा दुई चरणमा विश्व कार्य समिति गठन गरेपश्चात यो छोटो समयमा नै स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल, अस्ट्रेलिया, मलेशिया, कम्बोडिया, भियतनाम, जर्मन, इजरायल, स्वीटजरल्याण्ड, पोल्याण्ड, नेदरल्याण्ड, नर्बे गरी अठार देशमा राष्ट्रिय समिति, तीन देशमा स्टेट स्तरीय समिति, स्कटल्याण्ड र मेलबर्नमा बिस्वबिध्यालयहरुमा, नेपालमा पत्रकार र पर्यटन ब्यबसायीको र लुम्बिनीमा स्थानीय समितिहरु गठन भएका छन भने एनआरएनसंग संयुक्त रुपमा लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति पनि गठन भएको छ । अमेरिका र केही युरोपेली देशहरुमा राष्ट्रिय समिति गठनको तयारी भैरहेको छ ।

अभियानको उद्देश्य प्राप्तीमा प्राप्त भएका उपलब्धिहरुलाई बिस्तृत रुपमा भन्दा संक्षेपमा बुँदागत रुपमा प्रस्तुत गरिनु बढी सान्दर्भिक ठहर्ला । जन चेतना जगाउने: नक्काली लुम्बिनी र नक्कली कपिलवस्तु निर्माण कार्य करीब ८०% सम्पन्न भैसकेको खबर अनलाइन खबर पत्रिकाले प्रकाशित गर्दासम्म पनि देखिएको एक किसिमको सर्बपक्षीय मौनताको कारण नेपालीहरु त्यसबारे अनभिज्ञ हुनु स्वाभाबिकै भएकोले अभियानको शुरुका केही बर्ष तात्कालिन रुपमा देखा परेका बिभिन्न समस्या समाधानका खातिर प्रयासरत रहँदै र बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले शक्तिका भरमा नाजायज तबरबाट बुद्धको नामबाट फायदा लिन गरेको त्यस किसिमको निर्माण कार्यको बिरोध गर्दै बिभिन्न किसिमबाट जन चेतना जगाउनमा नै केन्द्रित भयो । सामाजिक सन्जाल, आफ्नो ब्लग, सन्चारका माध्यमहरु र बिभिन्न किसिमका कार्यक्रमहरु यस प्रयोजनका लागि साधन बने ।

सरकारी एबं सम्बन्धित निकायलाई झकझक्याउने: बिभिन्न देशको पाठ्य पुस्तकमा नै वुद्धको जन्मस्थल भारत लेखिएकोले करोडौं मानिसले त्यही पढ्ने हुनाले उनीहरुद्धारा सिर्जित कुनै पनि गतिबिधिमा त्यस्को प्रभाव पर्नु स्वाभाबिकै हो । ठूला ठूला बिभिन्न समस्या हुँदाहुँदै पनि समस्याको जरो भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी भएकोले अभियानको तर्फबाट तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई कुटनीतिक नियोग मार्फत बिभिन्न देशको पाठ्य पुस्तकमा भएको वुद्ध जन्मस्थल बिषयमा भएको गल्ती सच्याउन पर्ने कुरामा जोड दिंदै पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीप कुमार उपाध्याय, डा आरजु देउवा राणा, प्रो डा कबिताराम श्रेष्ठ र अभियानका केही सदस्यहरु सहितको प्रतिनिधि मण्डलद्धारा ज्ञापन पत्र बुझाईएको थियो । नेपाल सरकारले अभियानको सुझाबलाई कार्यन्वयन नगर्दा नै पत्रिकामा अभियानका विश्व संयोजकको वुद्धको जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी समस्या समाधानार्थ सरकारले कुटनितिक नियोग मार्फत काम गरिनु पर्ने भनाइ पढेपछि डिसेम्बर १९, २०१२ मा कोरियाका लागि तत्कालीन नेपाली राजदूत कमलप्रसाद कोइरालाले त्यहाँका राष्ट्रपति ली म्यङ बाकलाई बुद्धसम्बन्धी भ्रमहरु पाठ्यपुस्तकहरुमा सच्याइदिन आग्रह गर्दै चार पृष्ठ लामो पत्र लेखे पश्चात त्यहाँको सरकारले पाठ्यपुस्तकमा सच्याउने जुन निर्णय गरेको छ, त्यो अभियानको लागि कोसेढुंगा हो र अब अन्य देशमा यही कार्यलाई निरन्तरता दिन सकियो भने यो विस्वब्यापी समस्या समाधान कार्य समस्या हुनेछैन ।

त्रिभुवन विश्वविद्यालयको अंग्रेजी दोस्रो वर्षको पाठ्यक्रममा भएको एउटा पुस्तकमा “बुद्ध उत्तरी भारतामा जन्मिएको एउटा राजकुमार थिए”(“Sidhartha Gautam, the Buddha {“Enlightened One”) had been born about 563 BC to a princely of Northern India.” {(Page 21) Book Title: A History of Knowledge , Published by Ballantine Books, New York, 1992 Author: Doren, Charles Van) भनिएकोले सो पुस्तक त्रिबिबिको पाठ्यक्रमबाट हटाउनका लागि अभियानले १९ मार्ग, २०६८ मा उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सिडनी आउनु भएको बेला लुम्बिनीको बिकासलाई उच्च प्राथमिकता दिने बान्की मून जस्तो बुद्धिस्ट राष्ट्र संघका महासचिवकै कार्यकालमा लुम्बिनीको विकास कार्यलाई तिब्रताका साथ अगाडि बढाउन वृहत लुम्बिनी विकासको अन्तराष्ट्रिय समितिको संयोजकमा बस्न राजी हुनु भएका मूनको संयोजकत्वमा अन्तराष्ट्रिय समिति गठन कार्यलाई शिघ्रातिशिघ्र अगाडि बढाएर लुम्बिनीको बहुप्रतिक्षित बिकासलाई शिघ्रातिशिघ्र सार्थक रुप दिंदै नेपालको बिकास र विश्व शान्तिलाई उत्प्रेरित गर्ने कार्यलाई अगाडि बढाइयोस भन्ने आग्रहसहितको पत्र अभियानका तर्फबाट २८ मार्च २०१३ मा डा भट्टराई मार्फत वृहत लुम्बिनी विकास निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल प्रचन्डलाई पठाइएको छ ।

लुम्बिनी कपिलवस्तु दिवस अभियानले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई जीटिभिद्वारा प्रसारण शुरु गरिएको “बुद्ध” टेलिसिरियलभित्र हुन सक्ने संभावित गल्ती सच्याउन सरकारी पहल गरिनु पर्ने र धेरै देशको पाठ्य पुस्तकमा नै वुद्ध जन्मस्थलबारे गलत जानकारी भएको पाइएकोले नेपाल सरकारद्धारा कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरियोस् भनी अभियानको ज्ञापन पत्र तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपाललाई पूर्वमन्त्रीद्वय राजेन्द्र श्रेष्ठ र दीपकुमार उपाध्याय, डा आरजु देउवा राणा, प्रो डा कविताराम श्रेष्ठ समेत सहभागी भएको टिमले बुझाएको स्मरण गराउँदै कोरियाको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थलबारे जानकारी सच्याउने निर्णय त्यहाँको सरकारी स्तरबाट नै भैसकेको र चिनमा सच्याउन माथिल्लो स्तरमा कुराकानी अगाडि बढाउने कुरा अगाडि बढेको सन्दर्भमा बाँकी देशहरुमा समेत नेपाल सरकारले कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरी विस्व जनतालाई सही जानकारी पाउने मानबाधिकार दिलाइयोस भनी अनुरोध गर्दै पत्र लेख्नु भएपस्चात उक्त टेलिसेरियलको पहिलो भागमा “बुद्धको जन्म उत्तर भारतमा भारतवर्ष मगध साम्राज्यको कपिलबस्तु राज्यको लुम्बिनीमा भएको उल्लेख” भएको पाइएकोले उक्त टेलिसिरियल हालमा नेपालमा देखाउन नपाईने ब्यबस्था गरी सो जानकारी सच्याउन लगाउन सरकारी स्तरबाट अबिलम्ब पहल गरियोस भनी अभियानका तर्फबाट अनुरोधात्मक पत्र पुन: लेखिएको छ ।

बुद्ध जयन्तीमा नयाँ संस्कृतिको बिकास: पूजाआजा, भजन किर्तन र प्रबचनका साथ मनाइने गरिएको वुद्ध जयन्ती यो अभियानको शुरुवातपस्चात बिभिन्न देशमा वुद्ध जयन्ती मनाउने क्रममा बिभिन्न संस्थाहरुले संयुक्त रुपमा नेपाली राष्ट्रिय झन्डा सहित वुद्ध नेपालमा जन्मनु भएको सन्देश दिने कार्यलाई पनि वुद्ध जयन्तीकै एउटा अभिन्न अंगको रुपमा बिकास गरेका छन । यसरी वुद्ध जयन्ती मनाउने क्रममा बिभिन्न देशमा नेपालीका बीच राष्ट्रियताको भावनाको रुपमा देखिने यस किसिमका गतिबिधि बुद्ध जयन्तीकै अंशको रुपमा जसरी बिकास भएको छ, यस किसिमको संस्कारको बिकास हुनु अत्यन्तै महत्वपूर्ण पक्ष हो ।

गुगल र फेसबुक क्रान्ति: यो अभियानको शुरुको समयमा गुगलमा वुद्ध जन्मस्थल बिषयमा प्राप्त भएको सफलतामा नेपालीले खुशीयाली मनाएकोमा हाल गुगलमा बुद्धको जन्मस्थल खोज्दा थुप्रै सामग्री हाम्रो अनुकूल प्राप्त हुने बातावरण तयार भएको छ यो अभियान शुरु भएको यो छोटो समयमा नै । त्यसरी नै सानादेखि ठूलासम्मले फेसबुकमा अनाबस्यक तबरबाट समयको दुरुपयोग गर्दै जीवनका बिभिन्न पक्षमा नकारात्मक परिणामहरु दिएको जस्ता नकारात्मक पक्षलाई व्याबहारिक जीवन र अनुसन्धात्मक र खोजपूर्ण सामग्रीले बेला बखतमा समाचारको रुप लिरहेकोमा यही फेसबुकलाई सदुपयोग गर्दै वुद्ध जन्मस्थल बिषयमा सिर्जना गरिएको विस्वब्यापी दिग्भ्रमलाई निस्तेज पार्ने अभिप्रायले बिभिन्न देशमा रहने नेपालीले बिस्वब्यापी अभियानको सूत्रपात नै गरे ।

दशौं लाख फ्यान भएका मासिक ११५ मिलियनभन्दा बढी मानिसका बीच आफ्ना सामग्री लैजाने ३५० भन्दा बढी स्थानीय टिभिहरुको सन्जाल पिबिएस, अन्तरास्ट्रिय पत्रिका न्यूजविकका प्रधान संपादक एबं सिएनएनका कार्यक्रमा प्रस्तोता फारिद जाकिरिया र ब्रिटिश म्युजियमका यही सामाजिक सन्जालका पेजहरुमा गएर उनीहरुले बुद्ध जन्मस्थल बिषयमा दिएका गलत जानकारीका बिरुद्ध चर्को दबाब दिने जस्ता अत्यन्तै महत्वपूर्ण कामहरु भए । यही सामाजिक सन्जालमा बुद्धको जन्मस्थल बिषयमा सही जानकारी दिने अभिप्रायले थुप्रै साना ठूला पेज र ग्रुपहरु खोलिएका छन् । यी सबैबाट करोडौं बिदेशीहरु समेत अनभिज्ञ छैनन । त्यसैले होला मेलबर्नको ला ट्रोब बिस्वबिध्यालयमा बुद्ध जयन्ती मनाउने क्रममा नेपालको पिछडिएको ग्रामीण भेकका जनतालाई सहयोग गर्ने काममा लागिपरेका र त्यसै क्रममा महाबिर पुन: एबं नेपालको ग्रामीण पुस्तकालय परियोजना कार्यमा संलग्न परियोजनाका राष्ट्रिय निर्देशक शरद बाबु श्रेष्ठसंग समेत संपर्कमा रहेका बताउने मार्क पिनोलीले कार्यक्रमस्थमा कुराकानीको सिलसिलामा नेपालीहरुले अन्तराष्ट्रिय सन्जाल फेसबुकमा बुद्ध नेपालमा जन्मिएको कुराको बाढी नै ल्याएको देखेर आफू प्रभाबित भएको बताए ।

बिदेशीले समेत देखेको यो बाढी भारतीहरुले नदेख्ने भन्ने कुरै भएन । त्यसैले भारत वुद्ध भारतमा जन्मेको भन्नेबाट वुद्धिज्म भारतमा जन्मेको भन्नेतिर लाग्न पुगे, रामदेव नेपाल आउँदा र अमिताभ बच्चनद्धारा सन्चालित प्रसिद्ध टिभी कार्यक्रम “कौन बनेंगा करोडपति” कार्यक्रममा वुद्ध नेपालमा नै जन्मेको भन्न बिबस भए । टेलिभिजन श्रृखला बुद्धमा अभिनय गरेका कलाकार कविर वेदीले बुद्धको जन्म भारतमै भएको प्रतिक्रिया दिएका कारण भएको ब्यापक बिरोधपस्चात उनले ट्वीटर मार्फत बुद्धको जन्म लुम्बिनी नेपालमै भएको भन्दै माफी मागे भने काठमाण्डौंस्थित भारतीय दूताबासले सम्राट अशोक अशोका स्तम्भ गाडेपछि २००० बर्षभन्दा अगाडि नै वुद्ध नेपालमा जन्मेको कुरा टुंगो लागेको भनी ट्विट गरे ।

अन्तरास्ट्रिय नेता र संस्थामा बुद्धको मूर्ति उपहार: अस्ट्रेलियाका तात्कालिन प्रधानमन्त्री जुलिया गिलार्डलाई बुद्ध नेपालमा जन्मनु भन्ने लिखित जानकारी सहित नेपालीका तर्फबाट अस्ट्रेलियाले गरेको भौतिक बिकासका साथसाथै शान्ति पनि प्राप्त गर्न सकोस भन्ने कामना सहित बिश्व शान्तिका प्रतिक बुद्धको मूर्ति उपहार दिए । उक्त उपहारलाई तत्कालै प्रधानमन्त्री गिलार्डले प्रधानमन्त्रीको कार्यकक्षको सोकेसमा सजाएर राखे । त्यस्तै अन्तराष्ट्रिय मुद्धा मामिलाहरुको अन्तिम निर्णय गर्ने संयुक्त राष्ट्रसंघको अभिन्न अङ्गका रुपमा रहेको नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (International Court of Justice), जसलाई शान्ति दरबार (Peace Palace) को रुपमा पनि चिनिन्छ, को एक कक्षमा विश्वकै ख्याति प्राप्त ब्यक्तिहरुको पूर्ण तथा अर्धकदका प्रतिमाहरु रहेकोमा शान्तिका प्रतिमूर्ति बुद्धको प्रतिमा नभएकोले सो राख्न नेपाल सरकारमार्फत प्रकृया अगाडि बढाइएपस्चात न्यायालयले नेपाल सरकारलाई न्यायालयमा न्यायाधिशहरु बस्ने कोठा अगाडि बुद्धको मूर्ति राख्न अनुमति दिएकोले बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रमका कारण अभियानको जोडका कारण बुद्धको प्रतिमाका साथमा बुद्ध नेपालमा जन्मनु भएको सन्देश सहित प्रातिस्थापन गरे नेपालीहरुले । केही कमी कम्जोरीका कारण हेगको यस कार्यबाट जे जति उपलब्धि हासिल गर्न सकिन्थ्यो त्यो प्राप्त हुन नसकेको देखिन्छ । जे होस बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्ने काममा यी दुबै कार्यलाई अन्य देश र संस्थाहरुमा पनि निरन्तरता दिनुको पनि ठूलो महत्व हुने भएकोले अभियान सो प्रयासमा जुटन थालिसकेको छ ।

“बुद्ध नेपालमा जन्मनु भएको” फिल्म निर्माण: बरिस्ठ कलाकार रमित ढुंगानाले “बुद्ध नेपालमा जन्मनु भएको हो” (Buddha born in Nepal) फिल्म बनाउँदै हुनुहुन्छ । सो फिल्मको छायाँकंन कार्य नेपालमा भैसकेको छ भने उहाँ हाल छायांकनकै क्रममा अमेरिका हुनुहुन्छ र छायांकनको लागि कर्नेल बिस्वबिध्यालयबाट अनुमति प्राप्त गरिसक्नु भएको छ । अभियानको सुझाब अनुरुप नै उहाँले फिल्ममा अंग्रेजी भाषामा समेत जानकारी राख्दै हुनुहुन्छ ता कि सो फिल्म नेपाली बाहेक अरुले पनि हेर्न सकुन । उक्त फिल्मको सिडी बिभिन्न देशका बिस्वबिध्यालयलाई पनि उपलब्ध गराइने योजना छ ता कि उनीहरुले आफ्ना बिद्यार्थीहरुलाई देखाउन सकुन । बरिस्ठ कलाकारहरुले आ-आफ्नो भूमिका निर्बाह गरेको यो फिल्मले अभियानको उद्धेस्य प्राप्ती कार्यमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने कुरामा विश्वाश गर्न सकिन्छ ।

प्रमाणित गर्ने नभएर सिर्जित दिग्भ्रम निस्तेज पार्ने हाम्रो दायित्व: अन्तरबार्ता दिने क्रममा “वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित गर्ने काम कहाँ पुग्यो?” जस्तो प्रश्न यदाकदा आउने गर्छन् । वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित भैसकेको छ । त्यसैले युनेस्कोले लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेको र जापानले वेलायतका डरहाम बिस्वबिध्यालयका प्रोफेसर रविन कनिङ्हामको नेतृत्वमा युनेस्को मार्फत पाँच बर्षे परियोजना शुरु गरेको हो (जस्ले यही हप्ता मात्रै बुद्धको जन्मस्थल बिषयमा अत्यन्तै उत्साहजनक तथ्यहरु फेला पारेको छ ) भने प्रो केन्जो टांगे र प्रो क्वाकले लुम्बिनीको गुरु योजना तयार पारेका हुन वुद्ध जन्मस्थल बिकास गर्ने हेतुले र यी दुबै गुरु योजना राष्ट्र संघ अन्तर्गतकै काम हुन् । हाम्रो मौनता र कम्जोरीको फायदा उठाएर शक्तिको भरमा वुद्धको बिस्वब्यापी महत्वका कारण त्यसबाट लालायितहरुले गलत कुरालाई सही जस्तो देखिने गरी वुद्ध भारतमा जन्मेको भन्ने किसिमले बिभिन्न देशको पाठ्य पुस्तक, ठूला ठूला संग्रहालयहरु, प्रभाबशाली अन्तरास्ट्रिय संस्थाहरु एबं पत्रिकाहरु, नक्कली लुम्बिनी र कपिलवस्तु आदि मार्फत दिग्भ्रमलाई विस्वब्यापी बनाउने जुन काम भएको छ यस्ले नेपालको राष्ट्रियता कम्जोर बनाउने र नतमस्तक हुनु पर्ने अवस्था मात्रै सिर्जना भएको छैन, यस्ले वुद्धप्रति आस्थाबानहरु बुद्ध जन्मस्थल जान चाहनेहरु कि त झुक्किएर कि त झुक्याइएर वर्षेनी हजारौंको संख्यामा नक्कली लुम्बिनी पुग्ने पुर्याइने कामले उनीहरुको मानबाधिकार हनन हुने र उनीहरुको आस्थामा कुठाराघात पुर्याइने काम जस्तो जघन्य आपराधिक काम बुद्धकै नाममा भैराखेकोले सिर्जित दिग्भ्रम निस्तेज पार्दै यी सबै आपराधिक काम रोकथाम गरी भैराखेको विस्व माबाधिकार हनन समाधान कार्यमा योगदान दिनु पनि हो हाम्रो अस्तित्व र प्रतिस्ठालाई धुमिल हुन नदिने काम गर्दै ।

बिशेष गरी नेपालमा नै रहने नेपालीहरुका बीच युनेस्कोले लुम्बिनीलाई विश्व संपदा सूचिमा पारेको र हालैको लुम्बिनीमा पुरातात्विक उत्खननका कारण प्राप्त अत्यन्तै उत्साहजनक उपलब्धिका कारण अब यो अभियानको औचित्य समाप्त भएको होइन र भन्ने एउटा भ्रम अझै देखिन्छ । वास्तबिकता के हो भने अभियान शुरु भएको यो छोटो समयमा माथि उल्लेख गरिका उपलब्धिहरुका कारण धेरैतिर ढोकाहरु खुलिसकेका कारण अभियान नयाँ चरणमा प्रबेश गरेको छ र जन चेतना जगाउने काम अब प्राथमिकतामा छैन भलै केही नबुझ्ने र केही नबुझे झैं गर्ने समेत नपाईने होइन, तर धेरै देशका पाठ्यपुस्तक, संग्राहलय, पुस्तकालय, साइट आदिमा नै बुद्ध जन्मस्थलबारे भएको गलत जानकारी भएका कारण त्यही पढनेहरुको मस्तिस्कमा वुद्ध भारतमा जन्मिनु भएको जानकारी हुनु अस्वाभाबिक होइन ।

फेसबुकमा नेपालीको यस्तै भ्रमको जबाफ दिने क्रममा गत हप्ता मात्रै अभियानका युरोप सल्लाहकारका रुपमा नियुक्त हुनु भएका बेल्जियम-नेपाल फ्रेण्डसिप एसोसियसनका समेत अध्यक्ष रहेका फ्र्यान्क भेर्मीरस्चले केही दिन अघि मात्रै बेल्जियममा बुद्धिज्मको बारेमा जानकारी दिने सिलसिलामा जम्मा भएका ५९ जनामा ८-९ जनाले मात्रै बुद्ध नेपालमा जन्मनु भएको थाहा पाएको लेख्नु भएको छ । चीनका ९० प्रतिशत बुद्धिस्टहरुले बुद्ध भारतमा जन्मेको बताउने समाचार केही बर्ष आएको थियो ।

अहिलेसम्मका उपलब्धिहरुका आधारहरुमा मैले ब्यक्तिगत रुपमा बिभिन्न माध्यमहरु मार्फत बारंबार जोड दिने गरेको “पदमा नहुनेले नागरिकीय र पदमा हुनेले पदीय दायित्वबोध गर्ने” हो भने अब अभियानको उद्धेस्य प्राप्ती कार्य धेरै टाँढा छैन धेरै खुल्नु पर्ने ढोकाहरु खुलिसकेकोले । आखिर यो अभियान भनेको अभियानको बिभिन्न निकायमा बस्नेहरुको समूह र यस्को काम मात्रै नभएर यो त बिस्वब्यापी महत्वको उद्धेस्य हो । यो कसैको लागि नभएर आफ्नो क्षमतानुरुप जस्ले पनि केही न केही गर्न सक्ने माटोको ऋण चुक्ता गर्ने एउटा अबसर हो । भारतीहरु पछाडि हटन थालेको र थुप्रै अन्तराष्ट्रिय ब्यक्ति र संस्थाहरु लुम्बिनीलाई विस्व शान्ति शहर बनाउन लालायित भएको यो सुबर्ण अबसरमा मूलभूत रुपमा बिभिन्न देशको पाठ्यपुस्तकमा भएको समस्या समाधान कार्यमा केन्द्रित भएर नेपालीहरुको अब थोरै प्रयासले वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज गर्न सकिन्छ । नत्र “रात रहे अग्राख पलाए” हुन सक्छ । यदि लुम्बिनी हाम्रो देशमा हुन्थ्यो भने हामी सुनै सुनले छापिदिन्थ्यौं भन्ने जस्तो बिदेशीको भनाइको सामू हामी नेपाली नामर्दी भएर कतिन्जेल बसिरहने?

लेखक लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व संयोजक हुनुहुन्छ,अनलाइनखबरमा प्रकाशित यो लेख आज सातौ लुम्बिनी कपिलवस्तु दिवस अभियानको स्थापना दिवसको अवसर(समय सापेक्ष भयकोले ) पारेर पुन प्रकाशित गरेका छौ |

– सम्पादक