महाभूकम्पको ७२ घण्टासम्म भग्नावशेषमा पुरिएका सर्वसाधारणको खोजी तथा उद्धारका लागि सघाउन आएका विदेशी सेना फर्कने क्रम सुरु भएको छ। सबै सेना जेठको दोस्रो साताभित्र फिर्ता गइसक्ने भएका छन्।
नेपाली सेनाका उपरथी विनोज बस्न्यातले महाभूकम्पमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि ३४ देशका ४ हजार ५० जना विदेशी सेना नेपाल आएको जानकारी दिए। सेनाले महाभूकम्पपछि सञ्चालन गरेको ‘अपरेशन संकट मोचन’ का लागि उनलाई कुटनीतिक तथा मिडिया संयोजक तोकेको छ ।
बस्न्यातका अनुसार विपद्मा परेका नेपालीलाई सघाउन आएका विदेशी सेनामा दुई मेजर जनरलसहित १ हजार ४ सय १५ भारतीय सेना नेपाल आएका थिए। ती मध्ये झण्डै २ सय मंगलबार स्वदेश फर्केका छन्।
विदेशी सेना जति नेपाल आएका छन्, ती सबै नेपाली सेनाको अपरेसन कमाण्डमा परिचालन भएको पनि उपरथी बस्न्यातले बनाए।
अन्तर्राष्ट्रिय प्रचलन अनुसार यस्तो विपद्का बेला आएका विदेशी सेना कम्तिमा (३ दिन) ७२ घण्टा सर्च एण्ड रेस्क्यू कार्यमा खटिने गरेका छन्। तर नेपालमा त्यो भन्दा पनि ज्यादा समय भग्नावशेषमा पुरिएका मानिस भेटिएपछि थप केही दिन ‘सर्च एण्ड रेस्क्यु’ अपरेशन सञ्चालन गरिएको हो।
जेठ दोस्रो सातासम्म विदेशी सेनाले नेपाली सेनालाई सघाउन सक्ने छन् । र, त्यसपछि पूर्ण रुपमा सबै देशका सेना आफ्नो देश फर्कने छन्। ‘भारतीय तथा चिनियाँ लगायतका सेना छिमेकी तथा मित्र राष्ट्रका हिसावले मद्दत गर्न मात्र नेपाल आएका हुन्। उनीहरु सबै काम सकेर फर्कन्छन्, उपरथी बस्न्यातले भने।
सेनासहित स्वदेशी तथा विदेशी सेना राहत वितरणको चरणमा प्रयोग गरेको छ। नेपालसँग मित्रता भएका विभिन्न देशका सरकार तथा सेनाबाट प्राप्त राहत वितरण कार्य सुरु भएको छ । राहत वितरण कार्य पनि सहज हुँदै गएपछि बाँकि विदेशी सेना पनि क्रमिक स्वदेश फर्कने बस्न्यातले बताए।
‘केही दिनयता काठमाडौंमा विदेशी मित्र राष्ट्रका सरकार तथा सेनाबाट प्राप्त राहत कुनै स्टक छैन। राहत आएकै दिन या भोलिपल्ट सम्ममा नेपाली सेनाले हवाई तथा स्थल मार्गबाट राहत सामग्री भूकम्प प्रभावित जिल्ला र गाउँ विकास समितिमा पुर्याइसकेको छ’, बस्न्यातले भने, ‘अहिले नेपाली सेना र भारतीय सेनाका मात्र हेलिकोप्टरले राहत पुर्याउँदै गरेकोमा अमेरिकी सेनाको हेलिकोप्टर आएपछि झनै सहज हुनेछ।’ नेपाली सेनाले अहिलेसम्म हवाई र स्थलमार्ग हुँदै ५ सय ८५ गाविसमा राहत सामग्री पुर्याइसकेको छ।
भारतीय सेनाको काठमाडौं र अन्यत्र कही पनि आधार नभएको पनि उनले स्पष्ट पारेका छन्। भूकम्प आए लगत्तै भारतीय वायु सेनाको जहाजसहित सेना नेपाल आएको थियो । सुरुमा आफ्नै हिसावले सञ्चालित भएका थिए। ‘अव स्थिति त्यस्तो छैन’ उनले भने, ‘भारतीय, चिनियाँ या अमेरिकी सबै सेना नेपाली सेनाकै नियन्त्रणमा परिचालिन भइरहेको छ।’
स्वदेशी तथा विदेशी सेना ‘अपरेसन संकटमोचन’ मा नेपाली सेनाका प्रधानसेनापतिको ‘कमाण्ड डाइरेक्टिभ’ परिचालित भएको पनि उनले बताए। सबै विदेशी सेना नेपाल सरकारको निर्णय र आग्रह बमोजिम पीडितको खोजी तथा उद्धारका लागि यहाँ आएका हुन्।
नेपालमा यत्रो विपद आउन सक्छ भन्ने सेनाको आंकलन र पूर्वअभ्यास पनि समय समयमा गर्दै आएको हो। ‘तर नेपाली सेनालाई स्रोत र साधनको अभाव भयो। स्रोत र साधनले नै हाम्रो हात बाँध्यो। प्रशस्त स्रोत साधन भएको भए नेपाली सेनाले यो भन्दा धेरै राम्रो गर्न सक्ने थियो’, बस्न्यातले भने, ‘तर पनि यो विपत्ति हाम्रो लागि सिक्ने अवसर हो।’ नेपाल सरकारले तयार पारेको मोडल अनुसार नै अहिले काम भइरहेको उनले बताए।
अमेरिकी वायु सेनाका ९ र भारतीय १३ हेलिकोप्टर काठमाडौंमा
अमेरिका वायु सेनाले नेपालमा राहत सामग्री वितरणका लागि सघाउन पठाएका थप ४ हेलिकोप्टर मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। आइतबार काठमाडौं आइपुगेका भी–२२ अस्प्रे ४ वटा र एक अर्कोसहित अमेरिकी वायु सेनाका ९ हेलिकोप्टर नेपाल आएका छन्। आइतबार आएका हेलिकोप्टरले मंगलबारदेखि राहत सामग्री दुर्गम गाउँमा पुर्याउन थालेको छ।
त्यसैगरी भारतीय सेनाका १० एमआई– १७ सहित १३ वटा हेलिकोप्टरले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्यमा सघाइरहेका छन्। प्रत्येक हेलिकोप्टर नेपाली सेनाकै अपरेसन कमाण्डमा सञ्चालित हुन्छन्। ती सबै हेलिकोप्टरमा नेपाली सेनाका कम्तीमा १ जना लियाजो अफिसर बस्ने गरेको उपरथी बस्न्यातले बताए।
३ वटा चिनियाँ हेलिकोप्टर नेपाल आउने अन्तिम तयारी भएपनि अहिलेसम्म आउन नसकेको उनले बताए। ‘सोमबार नै आउने भनिएको थियो। चिनियाँ सेनाको छेन्दु कमाण्डबाट काठमाडौं आउन लागेका हेलिकोप्टरका पाइलट अंग्रेजी भाषा बोल्न नसक्ने र नेपालको टावरले चिनियाँ भाषा नबुझ्ने भएकाले हेलिकोप्टर आउन ढिलाइ भएको हो’, उनले भने, ‘चिनियाँ सेनाले बेइजिङबाट हेलिकोप्टर पठाउने तयारी गरिरहेको खवर आएको छ।’ सम्भवतः वुधबार ती हेलिकोप्टर नेपाल आइपुग्ने छन्।
यी सबै हेलिकोप्टर उद्धार तथा राहतकै लागि नेपाल आएका हुन्।
कुन देशका कति सेना नेपाल आए ?
भारत – १४१५
चीन – ९४२
श्रीलंका– १४०
पाकिस्तान – ८६
टर्की – ७९ (५६ जना फर्किसकेका)
बंगलादेश – १९
इजरायल – २८०
नेदरल्याण्डस् – ६२
भुटान – ६२
अमेरिका – ९४ (केही थप आउँदै)
जापान – ९८
पोल्याण्ड –
मेलेसिया –
फ्रान्स – ५१
स्पेन –४३
दक्षिण कोरिया –४६
सिंगापुर – २५३
थाइल्याण्ड – ५४
बेल्जियम – ४२
रसिया – ९१
नर्वे – ३५
बेलायत – १५५
क्यानडा – ११७
स्वीजरल्याण्ड –९
जर्मनी – ५२
युएई – २९
जार्डन – २३
स्वीडेन – ७२
इण्डोनेसिया – ८९
इटली – ११
अल्जेरिया – ७०
ओमान – २३
मेक्सिको – २०
हंगेरी – ३४