भदौ ७ गते सोमबार के भयो सबैलाई थाहा छ। निद्रा लाग्ने समाचार थिएन। लागेन। बिहानीपख आँखा झकाउन मात्र लागेको, चराको आवाजले बिउँझिए। लाग्यो आज पनि चरा कराए, हावा पनि बहेकै होला। मलाई त सबै ठप्प भयो कि भन्ने लागेको थियो।
भाव सुन्य मुद्रामा उठेँ। ज्यानले मन होइन मनले ज्यान बोक्ने रहेछ। मन गलेको दिन जिउ पनि कामिरह्यो। कहिले मन उठेर मारिएका २ बर्षे बालकको आमाबाबुको मनमा ठोकियो कहिले देशका सिपाहीहरुको परिवारको मनमा। अनि फेरि घाइते भएर फर्कन्थ्यो। यसैगरी बिते तीन दिन। लाग्थो, म टुक्राटुक्रामा विभाजित भएँ। कहिले लाग्थ्यो मारिएका सबैलाई कतै फेरि भेट्न पाए सरि भन्थेँ नि। विक्षिप्तता के हो भन्ने भोगें।
मान्छे मारेको समाचार नसुनेको होइन। दिनै सुनिन्छ। कसरि मारे भन्ने कुराले बढि गाह्रो भयो कि। नेपालमा अब कुनै पनि राजनीतिक अधिकार प्राप्तिका लागि मान्छेको ज्यान गएको समाचार हाम्रो कानले सुन्नै नचाहेको रहेछ। यसैले पनि बढि गाह्रो भयो हामी आम नागरिकलाई।
धेरै नेपाली मनहरुमा नरोपिएरै भाला रोपिएका थिए। घाउ बोकेका मनमा नुन छर्के जस्तो तब लाग्न थाल्यो जब यो पाशबिक बर्बरतालाई राजनीतिक जामा लगाउने धन्दा सुरु हुन थाल्यो।
चिच्याएर भन्न मन लाग्यो, 'अरे यार बर्बरता लाई पहिला निन्दा त गर। बर्बरता नै हो अपराधको पराकाष्टा हो भन। अनि आफ्नो धन्दा सुरु गर।'
पुर्व प्रधानमन्त्री भइसकेका बाबुराम भट्राई केहिदिन अघि लेख्न हतारिए, अनिष्ट हुने चेतावनि दिए। सुकेको परालजस्तो भएर समुदाय बसेको बेला चिस्याउने कर्तब्य परा गर्नु होइन अझ तताउने काम नै गरे।
घटना भइसकेकेपछि पनि जिम्मेवार बन्न सकेनन्। यस्को जिम्मेवारी थारुलाई अधिकार दिन्नँ भन्नेले लिनुपर्छ भन्दै जनता भड्किने ट्विट गरे। धन्य तिम्रो बुद्धी, धिक्कार मन्न मन लाग्यो। उनीबाट अब यस्तो चाहन्नौँ।
त्यसपछि ‘प्रगतिशिल बुद्धिजीवी’ तप्का जुर्मुराउन थाल्यो। त्यो घटनालाई निन्दासम्म भनेर आफ्नो फेसबुक र ट्विटरमा नलेख्नेले लेख छानेर सेयर गर्न थाले। कुनकुन वाक्य चुनेर सेयर गर्दा यो घटनालाई ढाकछोप गर्न सकिन्थ्यो, त्यसै गरे। आफ्नो प्रगतिशील छविमा धक्का नलागोस् भन्नेमा खुबै सचेत रहे। मानौं, यो देशमा पछाडि पारिएका समुदायको लागि उनीहरु रातदिन रोएरै बिताउँछन्। र, ‘जस्तोसुकै बलिदानी’ चाहन्छन्। रिसाउने तागत पनि थिएन। मारिएका सिपाहीहरुको जलेको धूँवा आकासमा मडारिँदै थियो। उनीहरुको परिवारलाई खिसी गरे जस्तो लाग्यो। फगत मन दुख्यो।
मलाई फेरि कराएरै भन्न मन लाग्यो, हिंसाको निन्दा गर्दा प्रतिगामी हुन्छु भने मलाई मन्जुर छ । निसस्त्र आफ्नो कर्तब्यमा खटिएका सिपाहीलाई प्रगतिशीलताका दुश्मन देख्ने आँटिलो मान्छे म होइन। म एउटा कायर प्रतिगामी हूँ। 'प्रगतिशील'हरुलाई मेरो नमस्कार।
देशमा कहलिएका महिलाअधिकारवादीहरुले घटनाको भर्त्सनासम्म गरेको देखिएन। किनकी त्यो 'महिलामाथि हुने' हिंसा थिएन। आफ्नो सवालमा बोल्ने अधिकारको प्रचुर प्रयोगकर्ताहरु राज्यमाथि भएको बर्बरतालाई निन्दासम्म नगरी नबोल्ने अधिकारको पूर्ण प्रयोग गरेर बसे। दुईबर्षे बालकाको आमाको पीडामा सहानुभुति जनाउने टिप्पणीसम्म गर्न जरुरी ठानेनन्। सिजन पर्खेर अधिकार फलाक्ने सबैथरी ‘वादी’हरु संँग मोहभँग भएको छ।
जिल्लाहरुमा घुम्दा कहिले चर्को घाममा भेट्थें सेनाले श्रीमान् मारेका महिलालाई र महशुस गर्थेँ उनीहरुको पीडा, अनि आफैँ रुन्थेँ। कहिले पुग्थेँ कालिकोटको पिली डुब्न लागेको घाममा। लखेटेर मारिएका सिपाहीका कहानी कसरी सुन्थेँ आँफैलाई थाहा छ। टुक्रापरेको मन सम्हालेर हिड्थेँ। मलाई मन थिएन रोदनका कहानी बेच्न। सम्भावना र समृद्धिका कहानी सकेजति टिपेर फर्किएँ।
मधेस आन्दोलनपछि पनि मधेस पुगेँ। डराएर गएको मन रमाएर फर्कियो। सतहमा देखिएको हिंसा भन्दा खातकाखात भएर बसेका सद्भावका कथा भेटिए मधेसीपहाडी दुवै समुदायमा। एकले अर्काको काँध थापेको, बचाएको कहानी मन उज्यालो पार्ने खालका थिए। सर्लाहीका मेरा मित्र अमन कोइराला भन्थे, ‘समाजमा नराम्रो घटना जरुर हुन्छ। तर राम्रा मान्छे धेरै भएकोले यो समाज जीवित छ ।' त्यही विश्वासमा फर्किएथेँ त्यो बेला।
झन्डैझन्डै विश्वास डगमगाएथ्यो अहिले। तर, किन मर्छ र विश्वास, केहिबेर गलेको मात्र हो। हिंसालाई राजनीतिक जामा लगाइदिने झुन्ड बिरुद्ध खनिन तयार समुह जुझारु छ। आश अब यसमै अड्केको छ।
यस्तो बर्बरतालाई राजनीतिक रंग दिने र यसको आडमा कुनै जाति बिशेषलाई घृणा पोखेर स्थिति भड्काउन खोज्ने दुवै खतरनाक छन। सजगता जरुरी छ यी सबैबाट। र, हिंसाबिरुद्ध मौन रहने जमात पनि हितकर हुँदैन।
आज एकपटक मलाई अन्धबिश्वाशी भइदिन मन लागेको छ। हे भगवान! भन्न मन लागेको छ। हामीसँग भएको शक्ति सोहोरेर पीडामा डुबेको परिवारलाई देउ। उनीहरुको दुख घटाइदेउ, त्यो दिन बिर्साइदेउ भन्न मन लागेको छ। यति म भन्न त सक्छु नि,आँखा ओभानो हाम्रो पनि छैन। ती मनहरुमा घाउ धेरै नदुखोस्।
साहित्यकार नयनराज पाण्डेले ट्विटरमा लेखेथे, ‘ देश दुख्यो भन्नेहरु नक्कली लाग्थे । आज त मलाई पनि दुख्यो ।’
हो दाजु मलाई पनि त्यस्तै लाग्थ्यो तर कहिले कहिले साँच्चै दुख्ने रहेछ। सहन गाह्रो हुने गरी । २ बर्षे निर्दोष बालक मारिएको छ। चरापनि रोए होला आकाशमा ।
यो घटनालाई ‘द्वन्द्वात्मक भौतिकवाद’ बाट हेर्ने वा ऐतिहासिक दमनवादको आँखाले। गरौँला नि त्यो काम। हतार नगरौँ। अपराधलाई मज्जैले निन्दा गरौंँ। अपराधीहरुको मनस्थिति खल्बलिने गरी निन्दा गरौँ। बिश्लेषण गर्ने बुद्धी हामीले बटुलेकै छौँ। खाँचो त दु:खमा एक हुने मनको न हो। विवेक हो अहिले चाहिएको। सबै खालको बर्बरताको निर्धक्क निन्दा ती सिपाहीहरुलाई साँचो श्रदान्जली होला। परिवारलाई साँच्चैको सहानुभुति त्यही होला।